- Loading...
कोप–२६ मा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान
- कृषि टि.भी.
- १ साल अघि
- ११ पटक पढिएको


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । बेलायतको सहर स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धिको २६ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको हो । बिहान ११ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री देउवा नेतृत्वको टोली ग्लास्गोमा प्रस्थान गरेको हो । प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने छन् । प्रधानमन्त्री देउवाले उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा धारणा राख्ने जनाइएको छ । त्यस्तै बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने तथा विभिन्न देशका समकक्षीहरुसंग भेट वार्ता गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । कोप–२६ कात्तिक १२ देखि २६ सम्म हुँदै छ । प्रधानमन्त्री देउवा भने कात्तिक १८ मा नेपाल फर्कने कार्यतालिका रहेको छ ।।


