- Loading...
कोरोना महामारीपछी कर्णाली प्रदेशमा व्यवसायीक कृषि गर्नेको संख्यामा बृद्धि
- कृषि टि.भी.
- १ साल अघि
- ७९ पटक पढिएको


काठमाडौं । कोभिड–१९ महामारीपछि कर्णाली प्रदेशमा कृषि क्षेत्रमा आकर्षण बढेको छ । कर्णालीमा व्यवसायीक रुपमा कृषिमा लाग्नेको सख्या सँगै उत्पादन समेत बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार कर्णालीमा कृषिको क्षेत्रफल आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मासमग्र कृषि बालीले ढाकेको क्षेत्रफल ४ दशमलब ६८ प्रतिशत बढेको छ । जसमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ४ दशमलब ५२ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३ दशमलब ०३ प्रतिशत र फलफूल तथा मसला बालीले ढाकेको क्षेत्रफल ७ दशमलब ५४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । प्रदेशभित्र तरकारी तथा फलफूल बालीको क्षेत्रफल १३ हजार आठ सय २७ हेक्टर रहेकोमा नौ हजार ६ सय ८२ हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । अघिल्लो आर्थिक वर्षमा आठ हजार दुई सय २७ हेक्टरमा रहेको स्याउ खेती यस आर्थिक वर्षमा १७ दशमलब ६९ प्रतिशतले बढेको छ । सडक पूर्वाधार बनेसँगै बजार पाउन थालेपछि स्याउ खेतीमा किसानको आकर्षण बढ्दै गएको उल्लेख छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान रहेको कर्णाली प्रदेश तुलनात्मक रुपमा कृषि, पर्यटन र उर्जाको क्षेत्रमा बढी सम्भावना भएको अध्ययन प्रतिवेदनले औल्याएको छ ।।


