- Loading...
खोरेत रोग नियन्त्रणकालागि लुम्बिनी प्रदेश कृषि मन्त्रालयको रणनीतिक योजना
- कृषि टि.भी.
- १ साल अघि
- १२७ पटक पढिएको


कृष्ण खनाल, रुपन्देही । लुम्बिनी प्रदेश सरकारले खोरेत रोग उन्मूलन अभियान कार्यान्वयनमा ल्याएको छ । खोरेत रोग देखा परे तत्काल रोग निदान र नियन्त्रणको कार्यमा जुट्ने, महामारी अन्यत्र फैलन नदिन तथा रोग नियन्त्रण कार्यमा संघ, प्रदेश र स्थानीय तहका सरोकारवालालाई समन्वयात्मक रूपमा परिचालन गर्ने र जनचेतनामूलक सामग्रीको उत्पादन गरी सुसूचित गर्ने गरी कृषि मन्त्रालयले कार्यक्रम कार्यान्वयनमा ल्याएको सचिव डा. शान्ता कार्कीले बताइन् । आवश्यकताका आधारमा खोपको खरिद कार्य संघ र प्रदेशका निकायले गर्ने कार्कीको भनाई छ ।

लुम्बिनी प्रदेशका तीन जिल्ला बाँके, रुपन्देही र नवलपरासी पश्चिममा खोरेत रोग देखिएको थियो । खोरेत रोग देखिएको ठाउँलाई प्रदेश र स्थानीय तह मिलेर निसंक्रमण गरेको पशुपन्छी निर्देशनालयका निर्देशक परवेज आलमले बताए । रोग फैलिन नदिन र तत्काल नियन्त्रण गर्न सबै सरोकार निकायसँग समन्वयकारी भूमिका अपनाउनुपर्ने आलमको भनाई छ । क्षति कम गर्न सबैको समन्वय आवश्यक पर्ने उनले बताए ।
कार्यक्रममा रुकुम पूर्व र गुल्मी बाहेकका प्रदेशका दशवटा जिल्लामा खोरेत विरुद्धको खोप लगाउने तयारी भइरहेको पशु सेवा विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले बताए । त्यसका लागि प्रत्येक जिल्लामा खोप पुगिसकेको छ । दश जिल्लामा छ लाख ५२ हजार पाँच सय डोज बितरण भएको कृषि मन्त्रालयको तथ्यांक छ । क्रमश १३ लाख खोप वितरण हुने छ ।
कार्यक्रममा सीमित श्रोत साधन र जनशक्ति अभावले लक्ष्य अनुसारको प्रगति हासिल गर्न नसकिएको प्राविधिकले गुनासो गरेका थिए । रुपन्देहीमा करिब ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा नाका छ । जहाँबाट सजिलै चौपायाको अवैध ओसार पसार हुन्छ । यस्ता अवैध क्रियाकलाप नरोकिँदासम्म रुपन्देहीमा खोरेत रोग नियन्त्रण गर्न समस्या हुने छ ।

