- Loading...
हात्तीको आक्रमणबाट अहिलेसम्म ४४ जनाको ज्यान गयो
- कृषि टि.भी.
- १ साल अघि
- २६ पटक पढिएको


समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता भाले हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउँछन् । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उनको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन् । ती तीनवटै हात्ती यतिबेला चितवन राष्ट्रिय निकुञ्जको सौराहा र कसरा आसपासको क्षेत्रमा छन् । गत एक महिनायता गोविन्दे र ध्रुवेले एक, एक जनाको ज्यान लिइसकेका छन् । यो मौसममा ती हात्तीले जनधनको क्षति बनाउन सक्ने भन्दै सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ध्रुवे यतिबेला टाइगरटप्स क्षेत्रको रिउ र राप्तीको संगमस्थलतिर छ । गोविन्दे र रोनाल्डो पनि सौरहा र कसरा आसपासमा समय–समयमा देखिने गरेका छन् ।
तिवारीको भनाइमा ध्रुवेलाई रेडियो कलर जडान गरेकाले यकिन ठाउँ थाहा हुन्छ भने रोल्नाडोलाई रेडियो कलर जडान गरिएको भए पनि अहिले नरहेका कारण यकिन ठाउँ थाहा हुन सक्दैन । तर समय–समयमा यी तीनै हात्ती देखिने गरेको उनी बताउँछन् । निकुञ्जले पालेका हात्ती प्रजननमा यी हात्ती प्रयोग हुँदै आएका छन् । पछिल्ला वर्षहरूमा अधिकांस छावा यिनै तीन मत्ता हात्तीबाट जन्मिएका छन् । यो मौसममा कुहिरो लाग्ने भएकाले निकुञ्ज आसपास क्षेत्रमा हिँड्डुल गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । निकुञ्ज संरक्षणमा लामो अनुभव संगालेका संरक्षणकर्मी वेदबहादुर खड्का हात्ती बस्तीमा आइहालेमा होहल्ला गरेर नलखेट्न सुझाव दिन्छन् । धेरैजसो घटना हात्ती लखेट्ने क्रममा हुने गरेको उनी बताउँछन् । कतिपयले मादक पदार्थ सेवन गरेर राँको बाल्दै हात्ती लखेट्ने गर्दछन् । यो आफैंमा जोखिम रहेको खड्काको भनाइ छ । हात्ती आइहालेमा निकुञ्जका अधिकारी र सुरक्षाकर्मीलाई खबर गरेर धपाउनुपर्ने उनको सुझाव छ ।


