- Loading...
सिमसार क्षेत्र मासिएपछि सारस घट्दै
- कृषि टि.भी.
- १ साल अघि
- २० पटक पढिएको


सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो । “सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भन्नुभयो, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ ।” यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे । अण्डा र मासुलाई यसको सिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे । वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ । सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ ।
रुपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ । कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ । नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ । विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ । जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ । दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ । जसलाई खोया हाँससमेत भनिन्छ । लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ । कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।


