
- Loading...
पशु स्वास्थ्य नीति कार्यान्वयनमा
- कृषि टि.भी.
- १ साल अघि
- २० पटक पढिएको


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा ल्याएको छ । उत्पादकत्वका साथै पशुपन्छीजन्य उत्पादनलाई स्वच्छ तथा गुणस्तर बनाउनका लागि राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ कार्यान्वयनमा ल्याएको हो । पशुपन्छीको रोग नियन्त्रण तथा अन्य स्वास्थ्य चुनौतीको सम्बोधन गर्दै पशु स्वास्थ्य क्षेत्रका समग्र पक्षलाई नीतिगत मार्गदर्शन गर्नका लागि ल्याइएको राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ लाई सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो कार्यअधिकार क्षेत्रभित्र रही कार्यान्वयनमा ल्याउने मन्त्रालयले जनाएको छ । आर्थिक तथा जनस्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने पशुपन्छी तथा माछाका रोग एवं समस्याको निदान, नियन्त्रण, निवारणका लागि नीति कार्यान्वयनमा ल्याइएको हो । कानुन, मापदण्ड, संरचनालगायतको व्यवस्था र पशु कल्याणका आधारभूत सिद्धान्तलाई सुनिश्चित गर्दै पशु तथा स्वच्छ पशुजन्य पदार्थको उत्पादन र त्यसको वितरणबाट जनस्वास्थ्य प्रवर्द्धन गर्ने नीतिको उद्देश्य छ ।
कृषकको अपेक्षाअनुरूप आकस्मिक सेवा प्रदान गर्न भेटेरिनरी एम्बुलेन्स, अस्पतालमा पशु भर्ना गर्ने व्यवस्था गरिनुको साथै प्रत्येक स्थानीय तहमा कम्तीमा एक जना दर्तावाल पशु चिकित्सक र प्रत्येक वडामा सहायकस्तरको प्राविधिक जनशक्तिको व्यवस्था गरिने नीतिमा उल्लेख छ । सबै प्रदेशमा खोपको भण्डारणका लागि खोप बैङ्कको स्थापना गर्ने कृषि मन्त्रालयले नीति लिएको छ ।


