- Loading...
बोयरजातको बाख्रापालनतर्फ कृषक आकर्षित
- कृषि टि.भी.
- १ साल अघि
- ४३ पटक पढिएको


स्थानीय जातका खसीबाख्रा भन्दा दोब्बर आम्दानी हुने भएपछि पछिल्लो समय वोयर बाख्रापालन तर्फ किसान आकर्षित भएका छन । स्थानीय जातका खसीबाख्रा पालन गर्दै आएका बाख्रापालक कृषकहरुको ध्यान हिजोआज वोयर बाख्रापालन तर्फ केन्द्रित भएको छ । रामेछापको दोरम्बाशैलुङ गाउँपालिका वडा नं ६ लखनपुरका युवा व्यवसायि सुदन गौतम पनि विगत तीन वर्षदेखि वोयर जातको बाख्रा पालन गर्दै आएका छन । मदरल्याण्ड बोयर बाख्रा फर्म मार्फत उनले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएका छन । गौतमले २०७५ सालमा १३ वटा बाख्राबाट आफ्नो व्यवसाय शुरु गरेका थिए । अहिले उनको फर्ममा १३० वटा बाख्रा छन । वोयर सँगै उनको फर्ममा खरी र जमुनापारि जातका बाख्राहरु पनि छन । बाख्रा पालन गरेको उनको केही बर्षको अनुभव सुनाउदै उनले भने, ‘खोर, घाँस र दानाको राम्रो व्यवस्थापन गर्न सके बाख्रा पालनमा कुनै समस्या भोग्न पर्दैन ।’ विशेषगरेर उनले वीउबोका र मासुका लागि बाख्रा पालन गर्दै आएका छन । गाउँघरमै वोयरको मासु ११ सय देखि १७ सय के जी सम्म विक्री हुने भएकाले बजारको समस्या नरहेको उनको भनाइ छ ।
गाउँमै बसेर कृषिमा केही गर्छु भन्ने युवाहरुका प्रोत्साहनका लागि स्थानीय सरकारले विभिन्न शीर्षकमा बजेटहरु विनियोजन गर्दै आएका छन । तर, व्यवसाय सञ्चालन गरिरहेका कृषकहरुलाइ ती बजेटहरु अपुग छ । समयसँगै लगानी अनुसारको आम्दानी लिन नयाँ कृषि यन्त्र र कृषि गर्ने तरिकाहरु परिवर्तन गर्दै लैजान आवश्यक छ । यसका लागि राज्यले नयाँ कृषि प्रविधि प्रयोगका लागि पनि ध्यान दिनुपर्नेमा कृषकहरुले जोड दिदै आएका छन ।


