FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सहेँला फाँटमा सामूहिक कागती खेती

    • कृषि टि.भी.
    • १ साल अघि
    • ३३ पटक पढिएको
    सहेँला फाँटमा सामूहिक कागती खेती

    तीन वर्षपहिले लगाइएका कागतीका बिरुवा फुल्न थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीहरुलाई अहिले बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका लागि भ्याइनभ्याई छ । दिन दुई गुना र रात चौगुना गर्दै हुर्किरहेका बिरुवामा फूल फुल्न थालेपछि किसानमा उत्साह बढेको छ । यसैवर्ष फल निस्कने आशामा रहेका किसानले आउँदो हिउँद याममा भने धेरै थोरै कागती उत्पादन हुने आशङ्कामा छन् । बागलुङ नगरपालिका–१४ अर्माहका ४३ किसानको वडा नं १२स्थित अमलाचौरको सहेँला फाँट अहिले आशाको बारी बनेको छ ।
    उक्त समूहमा आबद्ध ती कृषकले आफ्नै मिहिनेत बमोजिम फल्ने फलबाट समृद्धिको सपना दख्न थालेका छन् । सयौँ मुरी धान हरेक वर्ष फल्ने खेतमा किसानहरु कागतीबाट कृषिमा प्रगति खोजिरहेका हुन् । रु २० लाख लगानीबाट सुरु गरिएको कागतीको व्यावसायिक खेतीमा रु ६० लाखभन्दा बढी लगानी भैसकेको छ । तीनसय रोपनीभन्दा धेरै जमिनमा चार हजार बिरुवा हुर्किरहेका छन् । तीन वर्ष समय खर्चेर लगाइएका बिरुवामध्ये एक तिहाइ बिरुवामा फल लाग्ने बेला भयो भने अर्को एक तिहाइ दुईवर्षे बिरुवाले पालुवा फेर्दैछन् ।
    यहाँका किसानले थालेको व्यावसायिक कागती खेतीमा सहयोग गर्ने र देखासिकी गर्नेहरुको आँखा लाग्न थालेको छ । अनुदान र सहयोगका लागि सरकारी निकाय पनि अहिले त्यहाँ पुगेका छन् भने देखासिकी गर्न जिल्लाभित्र र बाहिरबाट किसान तथा प्राविधिकहरु आउने गरेको समूहका अध्यक्ष केशवप्रसाद सुवेदी बताउनुहुन्छ । केही दिनपहिला पोखराका कृषि प्राविधिकहरुको समूह सहेँलाको फाँटमा पुग्यो । त्यहाँ हुर्किएका बिरुवा र फूल लागेको देखेपछि उनीहरुले अहिलेको फूल झरे पनि जेठ महिनादेखि लाग्ने फूलबाट फल लाग्ने आशा देखाए ।
    चितवन, मकवानपुर र कास्की र बागलुङ जिल्लाकै विभिन्न ठाउँबाट हरेक महिना कृषि समूह र कृषि प्राविधिहरु सहेँलाको फाँट पुग्ने गरेका अध्यक्ष सुवेदीको भनाइ छ। सरकारी अनुदानमा आशा नराखी आफँैले लगानी गरेर व्यावसायिक खेती थालेका किसानले पछिल्लो पटक सरकारी निकायको साथ पनि पाउन थालेका छन् । रु एक लाखको बिरुवा ढुवानीका लागि अनुदान दिएको नगरपालिकाले रु तीन लाख खर्चेर फार्मसम्म पुग्ने सडक बनाई दिएको छ । गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले कृषि उपकरण, मलखाद, पोखरी निर्माण र औजार खरिद लगायतका शीर्षकमा रु १० लाख अनुदान दियो । अहिले सिँचाइका लागि पोखरी छ । कम्पोष्ट मलका लागि प्रविधि र गोडमेल तथा सिँचाइका लागि उपकरण छन् । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २० खाल विनियोजन गरेको जनाएको छ ।
    भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको बजेटका लागि अर्थ मन्त्रालयमा पुगेर फाइल रोकिएको छ । हरेक वर्ष रु चार करोडको कागती उत्पादन गर्ने लक्ष्यका साथ व्यावसायिक खेती थालेका किसानले फल फल्न थालेको एक वर्षमै लगानी उठाएर मुनाफा कमाउन सक्ने उहाँको जिकिर छ । समूहमा आबद्ध किसानलाई प्रतिरोपनी रु पाँच हजारका दरले समूहले वार्षिक भाडा पनि दिँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित