- Loading...
आलुका बोट सप्रिएपछि रसुवाका किसान खुशी
- कृषि टि.भी.
- १ साल अघि
- ४४ पटक पढिएको


दक्षिणी भेगका खेतीयोग्य जमिनमा लगाइएका हिउँदे आलुको बोट सप्रिएपछि रसुवाका किसान खुसी भएका छन् । धान काटेपछि गत मङ्सिरमा रोपिएका आलु गोडमेल गर्दा जरामा राम्रोफल भेटिएपछि किसानमा उत्साह बढेको हो । उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिका अन्तर्गत तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने हजारौँ किसान आलुखेती गर्दैै आएका छन् । पहिरेबेँसी, बनुवा, मनिगाउँ, पहिरे, कुडुल्ले, गिद्धेखोला, जिबजिबे, गैरीगाउँ, रूप्सेपानी, भदौरे, सरमथली, दनुस्वारा, लगायतका फलाखु खोला, धोवी खोला, अँधेरी खोला एवं पाहाखोलाको पानीले पौँच पुग्ने क्षेत्रका आसपासमा आलु रोप्ने किसानले प्राथमिकता दिँदै आएका छन् ।
दक्षिणी भेकका अधिकांश खेतबारीमा आलुको साथसाथै हिउँदे तरकारी रोप्नसमेत जागरण आइसकेको छ । यो वर्षको उत्पादित आलु बिक्रीबाट रु तीन करोड आय हुनसक्ने स्थानीय किसानले अनुमान गरेका छन् । आलुका अतिरिक्त दैनिक जीविकोपार्जन सहज हुने गहुँ, तोरी, मुला, बन्दा, काउली, हरिया साजसब्जी जस्ता तरकारीमा पनि जागरण बढिरहेको बनुवाका विष्णुप्रसाद आर्चायले बताउनुभयो । आफ्नै खेतबारीमा अर्गानिक तरिकाले उत्पादन गरिएका थोरबहुत हिउँदे तरकारी बिक्रीको प्राप्त आयबाट अधिकांश किसानलाई नून, तेल जस्ता दैनिक अत्यावश्यक बस्तुको गर्जाेटार्नसमेत सहज भएको आर्चायले जानकारी दिनुभयो ।
उत्तरी रसुवाका अधिकांश भागमा हिमपात हुने र केही भागमा जमिन अत्यधिक चिसो हुने भएका कारण राम्चेदेखि उत्तरतर्फको पूरै भागमा भने बर्षे आलु मात्र रोप्ने चलन छ । राम्चे, धुञ्चे, भार्खु, हाकु, गोल्जुङ, गतलाङ, यार्सालगायतका क्षेत्रमा फागुनको तेस्रो हप्तादेखि आलु रोप्ने काम सुरू हुने किसान रामकाजी तामाङले बताउनुभयो । यतिखेर उत्तरी रसुवाका किसान बर्षेआलु रोप्नका लागि जमिन तयारी गर्ने काममा जुटेका छन् ।
फागुनमा रोपिएको आलु साउनको १५ देखि खन्न सुरु भई भदौसम्ममा बिक्री भइसक्ने र खरिदकर्ता गाउँटोलमै पुग्ने गरेका छन् । गएको वर्षा उत्तरी भेगमा करिब पाँच करोड बराबर बर्षे आलु उत्पादन भएको स्थानीय अनुमान रहेको छ । रसुवा जिल्ला हिमाली क्षेत्र भएको र गाई बाख्रापालन गरेर बारीमा मलखादको व्यवस्था गर्ने, विषादी औषधि प्रयोग नगर्ने परम्परा भएका कारण रसुवामा उत्पादित आलु बिक्रीले पहिलो प्राथमिकता पाउने गरेको किसान याकबहादुर लिम्बू बताउनुहुन्छ ।


