- Loading...
झापामा तोरीखेतीको आशलाग्दो विस्तार
- कृषि टि.भी.
- १ साल अघि
- २७ पटक पढिएको


तेलहन बाली तोरीको उत्पादन जिल्लामा यस वर्ष बढ्ने भएको छ । तोरीखेतीको क्षेत्र विस्तार भएका कारण विगतमा भन्दा बढी उत्पादन हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । जिल्लाका १५ पालिकामै तोरीखेती विस्तार भएको केन्द्रले जानकारी दिएको छ । यसमा हल्दिबारी, कचनकवल, मेचीनगर, कनकाई, दमक र गौरादहका किसान तोरीखेतीप्रति बढी आकर्षित भएका छन् । हावापानीका दृष्टिले तोरीखेतीका लागि झापालाई उर्वरभूमि मानिन्छ । जिल्लामा चार वर्षअघिसम्म चार हजार हेक्टर क्षेत्रमा मात्र किसानले तोरीखेती गर्दै आएका थिए । तर पछिल्लो समय स्वस्थ र शुद्ध खानेतेलका लागि तोरीको प्रयोग बढेसँगै व्यावसायिकरूपमा तोरीखेती फस्टाएको हो ।
मेचीनगर–१४ का गोपाल तिसिम्नाले दुई वर्षदेखि आफ्नै चार बिघा जमिनमा व्यावसायिकरूपमा तोरीखेती गर्न थालेका छन । त्यसअघि उहाँ पनि बजारबाट तेल किनेर भान्सामा प्रयोग गर्नुहुन्थ्यो । अहिले आफैँले खेती गर्न थालेपछि शुद्ध तेल खान पाएको र मनग्य आम्दानीसमेत हुन थालेको उनले बताए । गत वर्ष तीन बिघामा तोरीखेती गरेका उनले यस वर्ष चार बिघा जमिनमा खेती विस्तार गरेका छन । यसपालि १० क्विन्टल तोरी उत्पादन हुने उनकोे अनुमान छ ।
जिल्लामा पछिल्लो समय सहकारी संस्थाहरूले समेत तोरीखेती व्यावसायिकरूपमा गर्न थालेका छन् । उनीहरुलाई प्रोत्साहन गर्नका लागि कृषि ज्ञान केन्द्र झापाले तोरी ब्लक क्षेत्र नै घोषणा गरेको जनाएको छ । हल्दिबारी गाउँपालिकामा रहेको सहकारीलाई दुई वर्षसम्म रु २५ लाखको दरले अनुदानसमेत प्रदान गरेको केन्द्रले जनाएको छ ।


