
- Loading...
कृषि यान्त्रीकरण मेला चैत ९ देखि हुदै
- कृषि टि.भी.
- १ साल अघि
- २२ पटक पढिएको


‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आगामी चैत ९ देखि १२ गतेसम्म शलोम पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण वृहत प्रदर्शनी हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा सो प्रदर्शनी हुने सोमवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । प्रदर्शनी मेला चैत ९ देखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने भएको हो । प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण र प्रविधिको बृहत प्रदर्शनी हुने जनाइएको छ । प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ता, स्टलहरु रहनेछन् ।
विभिन्न २० ओटा मुलुकका कृषि यन्त्र, औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछ । करिब २ हजार प्रकारका विभिन्न मेसिनरी उपकरण तथा औजारहरु प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ। चार दिनसम्म चल्ने प्रदर्शनीमा झन्डै १ लाखभन्दा बढी अवलोकर्ताको सहभागीता हुने र २० करोडभन्दा बढीको कारोबार हुने जनाइएको छ । कृषिकलाई आधुनिक कृषि यन्त्र तथा प्रविधिको बारेमा जानकारीमार्फत आधुनिक प्रविधिमा बहुआयामिक व्यवसायिक कृषिमा आकर्षित गराई देशको कृषि उत्पादन वृद्धि गर्ने प्रदर्शनीको मूख्य लक्ष्य रहेको नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताए ।
उक्त मेलालाई ‘मेड इन नेपाल प्याभिलियन’ समेत भनिएको छ । जसमा नेपाली कृषि क्षेत्रका लागि आवश्यक कृषि यन्त्र, औजार, प्रविधि, मल ,वीउ समावेश हुनेछन । प्रदर्शनीमा अर्काे मुख्य आकर्षकको रुपमा कृषि कर्जा मेला रहेको छ । किसान र बैंकिङ क्षेत्रमा देखिएको समस्या हल गर्न र किसानलाई बुझ्न बुझाउन पहिलो पटक कृषि कर्जा मेला आयोजना गर्न लागिएको कृषि कर्जा मेला संयोजक डम्बर खनालले बताए ।
यस्तै कार्यक्रमका मुख्य प्रायोजक सलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारीले पछिल्लो ११ वर्षदेखि सलोमले प्रविधि विस्तारमा महत्वपूर्ण योगदान दिन सफल भएको बताए । चार दिनसम्म चल्ने प्रदर्शनीमा प्रवेश निशुल्क गरिएको छ भने करिब १ करोड खर्च हुने अनुमान गरिएको छ । यसअघि माघ ५ देखि ८ गतेसम्म सम्म कृषि मेला गर्ने तयारी गरेकोमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्थगित भएको थियो ।


