FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

    • कृषि टि.भी.
    • १ साल अघि
    • २२ पटक पढिएको
    जलवायु परिवर्तनको असर घरको बनोटदेखि स्याउखेतीसम्म

    गत वर्ष जेठ र असारमा आएको भारी वर्षाबाट धेरै क्षति पुगेको छ । सामान्यतः पानी नै नपर्ने र परिहाले पनि अत्यन्त कम पर्ने हिमाली क्षेत्रमा वर्षा हुने गरेको छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि हिमाली क्षेत्र मनाङ जिल्लामा पक्की घर बन्न थालेका छन् । वर्षाका कारण हिमाली क्षेत्रमा रहेका परम्परागत तथा पुराना माटोका घर मासिँदै गएका छन् । हिमाली क्षेत्रमा माटाको घरभन्दा सुरक्षित हुने भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ ।
    मनाङमा सदियौँ पुराना माटाले निर्मित परम्परागत घर छन् । सडक सञ्जाल जोडिएसँगै ऐतिहासिक घर क्रमशः मासिन थालेका हुन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर लोप हुने क्रममा छन् । माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । हिउँ पर्दा घरमाथि थुप्रिएर बस्थ्यो तर पनि सुरक्षित होइन्थ्यो । हिमपातसंँगै वर्षा भएपछि माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि पुराना घर मासिन थालेको स्थानीयवासी बताउँछन् ।
    एक दशकअघिसम्म हिउँ मात्र पर्ने क्षेत्र माथिल्लो मनाङ, नार्पाभूमि चामेलगायत स्थानमा जलवायु परिवर्तनको असरसँगै वर्षा हुन थालेपछि परम्परागत तवरले निर्माण भएका माटाका संरचना प्रत्येक वर्ष जोखिममा पर्दै गएका छन् । माटाको सहरका रुपमा छुट्टै मौलिकता तथा पहिचान बनेका बस्ती वर्षा हुने क्रमसँगै पग्लन र भत्कन थालेपछि सिमेन्टको प्रयोग र जस्ताले छाउन बाध्य हुनुपरेको चिन्ता स्थानीयवासीमा छ ।
    मनाङमा कम पानी पर्ने भएका कारण यहाँका अधिकांश घर माटाले छाइएका छन् । छतमा जमेको हिउँ फालिदिएपछि अन्य कुनै समस्या बेहोर्नुपर्ने अवस्था थिएन । प्रायः चिसो भइरहने भएका कारण माटाले बनाइएका यहाँका घर वातावरणानुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि भित्र न्यानो भइरहन्छ । पछिल्ला वर्ष हिउँ पर्न छाडेर पानी पर्ने क्रम बढिरहेका कारण बस्तीहरू उच्च जोखिममा छन् ।
    प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले हिमाली जिल्लामा पानी पर्ने क्रम बढिरहँदा माटाले बनेका संरचना जोगाउने चुनौती थपिएको बताए । उनका अनुसार हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढेसँगै यहाँ माटाले बनेका घर तथा बस्ती एवं दुई चार सय वर्ष पुराना गुम्बा, मठमन्दिरलगायत प्राचीन सम्पदा जोगाउन यतिखेर गम्भीर चुनौतीका रुपमा देखिएको छ । यसरी माटाले बनेका संरचना सङ्कटग्रस्त बनिरहेको स्थानीयवासीको भनाइ छ ।
    बाढीपहिराबाट क्षति
    यहाँ पछिल्लो समय आएको बाढीपहिराका कारण गाउँहरू नै डुबानमा परी बगरमा परिणत भएका छन् । नासों गाउँपालिका–१ ताल गाउँका भौतिक संरचना नष्ट भई बगरमा परिणत भएको छ । बाढीपहिराका कारण यहाँका ५९ घरपरिवार विस्थापित हुन बाध्य छन् । ताल गाउँ मात्र नभई धारापानी, चामे, ताचे, पिसाङलगायत स्थानका सामुदायिक तथा निजी आवास डुबानमा परेर ठूलो क्षति बेहोर्नुपरेको थियो ।
    बाढीले चामे गाउँपालिका–१ तिमाङ खोलाको बेली ब्रिजसहित १६ झोलुङ्गे पुल र आठ÷१० काठेपुल बगाएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख प्रल्हाद दहालले जानकारी दिए । उनका अनुसार पुलमा क्षति पुगेपछि स्थानीयवासीलाई एक ठाउँबाट अर्को स्थानमा आवतजावत गर्न समस्या भएको छ । हालसम्म पनि कतिपय स्थानमा पुल निर्माण हुन सकेको छैन ।
    यसअघि मनाङमा यस्तो खालको ठूलो बाढी आएको स्थानीयवासीको अनुभवमा नभएको दाहालले बताए । बस्तीमा पानी पर्दा परम्परागत रुपमा निर्मित माटोका छत भएका यहाँका अधिकांश घरमा क्षति पुगेको मनाङ ङिस्याङ गाउँपालिका–१ का ७६ वर्षीय ज्येष्ठ नागरिक एवं चौँरीपालक किसान याङ्दुङ गुरुङले बताए । बस्तीहरू सङ्कटमा पर्दै गएका अवस्थामा आगामी दिनमा जोखिम अझै बढ्न सक्ने खतरा छ ।
    कृषि प्रणालीमा प्रभाव
    पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर मुस्ताङका स्याङ, ठिनीलगायत बस्तीमा पाउन थालिएको छ । हिमाली क्षेत्रमा वर्षा हुने र बेमौसममा हिउँ पर्दा यहाँको तापक्रम बढ्दै गएको छ । जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा फल्ने स्याउ खेतीको ठाउँ परिवर्तन हुँदै गएको छ । स्याउ पहिलेको आफ्नो ठाउँ छाडेर बिस्तारै माथिल्लो भागतर्फ सर्न थालेको स्थानीयवासी ज्येष्ठ नागरिक बताउँछन् ।
    जलवायु परिवर्तनको असरसँगै मनाङको तल्लो भेगमा पानी पर्न थालेपछि धारापानी, ताल गाउँलगायत स्थानमा स्याउ खेती घट्दै गएको व्यवसायीको अनुभव छ । करिब २०÷२५ वर्षअघि यहाँका तल्लो भेगमा स्याउको राम्रो उत्पादन हुने गरेकामा पानी पर्ने क्रम बढेसँगै उत्पादनमा कमी आउन थालेको स्थानीयवासी बताउँछन् ।
    बढ्दो तापक्रमकै कारण झन्डै १०÷१२ वर्षअघिसम्म स्याउको राम्रो उत्पादन हुने मुस्ताङको लेतेमा पछिल्ला वर्ष फल फल्नै छाडेको छ । पछिल्लो दुई÷तीन वर्षयता यहाँका माथिल्लो बस्तीमा पानी पर्ने क्रम बढ्दै जाँदा यसरी कृषि प्रणालीमा प्रभाव परेको देखिन्छ ।
    हिमालतिर लामखुट्टे
    पछिल्ला वर्ष हिमाली क्षेत्रमा तापक्रम बढ्दै गएको छ । तथ्यङ्कानुसार पछिल्ला वर्ष पहाडी भेगमा ०।०६ प्रतिशत र हिमाली भेगमा ०.०४ प्रतिशतका दरले तापक्रम वृद्धि भइरहेको छ । प्राकृतिक एवम् मानवीय दुवै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञको भनाइ छ । यसतर्फ बेलैमा सोच्न नसक्ने हो भने यसले पार्ने दीर्घकालीन असर भयावह हुने बताइएको छ ।
    पछिल्ला वर्ष बढ्दो तापक्रमसँगै तराई र मधेसका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झन्डै तीन दशक पुगिसकेको छ । एक दशयता हिमाली क्षेत्रमा पनि लामखुट्टे देख्न थालिएको छ । विगतमा लामखुट्टे नदेखिने यस क्षेत्रमा यतिखेर भने त्यसबाट बच्न झुल प्रयोग गर्न लागिएको छ ।
    हिमाल पग्लने क्रममा
    तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमाल बर्सेनि कालापत्थरमा परिणत भएका छन् । कम्तीमा पनि ७० प्रतिशत पानीको स्रोत हिमखण्ड भएका अवस्थामा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ । हिमाली क्षेत्रमा वर्षा हुँदा हिमाल पग्लने क्रमसँगै नयाँनयाँ हिमताल बन्ने सम्भावना बढिरहेको छ ।
    यहाँ बेमौसममा बाढी आउन थालेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार मनाङको मस्र्याङ्दी नदीमा आएको बाढीले पिसाङ, चामे, धारापानी, ताल गाउँका सामुदायिक तथा निजी भौतिक संरचनामा क्षति पु¥याएको छ । पछिल्ला दिनमा साना तथा ठूला खोला नदीमा समय समयमा माटोसहितका लेदोसहितको पानी आउने गरेको छ ।
    पछिल्ला अध्ययनले जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै गएका छन् । हिमताल सीमामाथि सर्दै नदीहरू हिमालतर्फ सरेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र दुई हजार तीन सय २३ हिमताल छन् । हिमनदी र हिमाली क्षेत्रबाट हिउँ पग्लँदै जानु गम्भीर चुनौतीका रूपमा देखिएको छ । अहिले विश्वभरका मानिसले पिउने पानीको स्रोत हिमखण्ड हो । वायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पिउने पानीको अभाव देखिन थालेको छ । माथिल्लो मनाङका विभिन्न स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँ खानेपानीको अभाव बढ्दै गएको छ ।
    असमान हिमपात
    जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्ष स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । मनाङमा कुनै वर्ष अत्यधिक हिमपात हुन्छ भने कुनै वर्ष आंशिक मात्र । कुनै वर्ष हिमपातसँंगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा हिमपातका कारण सयौंँ याक, चौरी र भेडाच्यांग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन ।
    ङिस्याङ गाउँपालिका–१ चौँरीपालक किसान याङ्दुङ गुरुङ विगतमा जस्तो हिउँ नदेखिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चाँैरी खर्कहरू हिमपातले पुरिने गथ्र्यो । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, मङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्यो तर अहिले बेमौसममा पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र मासिएको छ ।”चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । हिउँ परेपछि पानी नपर्ने तर माटो यसैले उर्वर बनाउने हो तर बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ ।
    बिनाआइइइ सडक
    मुस्ताङको घर्पाझोङ गाउँपालिकाको ठिनीदेखि तिलिचो तालसम्मको सडक निर्माण सुरु गरिएको छ । नेपालको सबैभन्दा उच्च स्थान अर्थात् चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल जोखिममा पर्ने देखिएको छ । सडक बनाउने योजना सह्रानीय भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन आइईई नगरी गरिने निर्माणले प्रकृतिमा क्षति पुग्ने देखिएको छ । म्याग्दीको पूर्वाधार विकास कार्यालयले घारपाझोङ गाउँपालिकाको ठिनी गाउँदेखि तिलिचो तालसम्मको ट्रयाक खोल्ने काम सुरु गरिएको जनाएको छ । यसअघि ठिनीदेखि ताङ्दुङसम्म दुई किलोमिटर लामो सडक निर्माण भइसकेको छ । सडक निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । तालसम्म सडक पु¥याउँदा हिमाली जिल्लाको सौन्दर्य र वातावरणमा प्रभाव पर्ने देखिएको छ ।
    भौगोलिकरूपमा विकट तथा प्राकृतिक सौन्दर्यमा रमाउन मनाङमा बाह्य तथा आन्तरिक पर्यटक आउने गर्छन् । हिमाली क्षेत्रका प्राकृतिक सौन्दर्यताको संरक्षण गर्नुपर्ने दायित्व वा जिम्मेवारी नेपालीजनको हो, राष्ट्रको हो । भौगोलिकरुपमा सहज बनाउने काम गर्दा यहाँको प्राकृतिक सुन्दरताको असर भने पार्न हुँदैन । सडक निर्माण गरिँदा प्राकृतिकरूपमा प्रभाव पार्न सक्ने विषयको अध्ययन अनुसन्धान गरेर मात्रै विकास गर्नुपर्ने देखिन्छ ।
    यहाँका हिमाल, प्राकृतिक तथा परम्परागत घर, संस्कृतिको अध्ययन तथा अनुसन्धानमा विशेष गरी विदेशी पर्यटक आउने गर्छन् । विगतमा पैदल यात्रामार्फत आउन विशेष रुचाउने भएकाले तिनको रुचिलाई पनि ध्यान दिनुपर्छ । हिउँ बेमौसममा पर्दा पर्यटकलाई समस्या हुने गर्छ । भारी वर्षा, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले पनि तिनलाई असर गरेको छ ।
    पदमार्गको संरक्षण
    मनाङ सडकमार्गसँग जोडिएको लामो समय भएको छैन । विगतमा पैदल यात्राका भरमा धेरै दिन लगाएर पुग्ने गरिएको थियो । स्थानीयवासीको सहजताका लागि विकट क्षेत्रमा पुग्न सडकले सहज बनाएको छ तर भौतिक रुपमा सहज बनाउँदा प्रकृतिमा प्रभाव पर्न सक्ने भएकाले त्यसतर्फ राष्ट्र नै सचेत हुनुपर्ने अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापका प्रमुख लेखनाथ गौतम बताउँछन ।
    मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ सडक सफा गर्नाका साथै पैदलयात्रा गर्ने पर्यटक आउने वातावरणमा उचित ध्यान दिनुपर्ने सुझाव दिन्छन् । प्राकृतिक मार्ग तथा पदमार्ग मासिँदा पर्यटक आगमन कम हुनेतर्फ उनले चिन्ता व्यक्त गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित