
- Loading...
मूल्य श्रृंखला परियोजना (भिटा) लुम्बिनी प्रदेशबाट कार्यान्वयनमा
- कृषि टि.भी.
- १ साल अघि
- १८७ पटक पढिएको


कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) लुम्बिनी प्रदेशबाट कार्यान्वयनमा गएको छ । लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष’ आईएफएडीले करीब १० अर्ब रुपैयाँ ९८० मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग गरेको छ । ६ वर्षसम्म चल्ने उक्त कार्यक्रमका लागि नेपाल सरकार, अर्थ मन्त्रालय र आई एफ एडी बीच २०७८ असोजमा सम्झौता भएको थियो ।
भिटा कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव बैकुण्ठ अधिकारीले तिलोत्तमा स्थित ड्रिम ल्याण्ड गोल्ड रिसोर्टमा आइतवार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो की भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई प्रष्ट पार्ने अवसर पाएको विश्वास व्यक्त गरे ।
उक्त अवसरमा कृषि विकास बैंकका उप–महाप्रबन्धक बाबुकाजी थापाले भिटा कार्यक्रमले बजारको मागमा आधारित कृषि वस्तुको व्यावसायिकरण मार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण र प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको बताए । कार्यक्रमबाट प्रत्यक्ष रूपमा १ लाख २० हजार साना कृषक परिवारहरू विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार हुने थापाको भनाई छ ।
यस्तै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापनाकालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरि तथा आयात प्रतिस्थापन हुने गरि मूल्य श्रृंखलाको अवधारणा अनुसार नै लगानी गर्ने बताए ।
यता दातृ निकाय आई एफ एडीबाट आवासिय निर्देशक रोशन कुकले आईएफएडी र नेपाल सरकारले विगत ४ दशकदेखी सहकार्य गर्दै आएको र हालसम्म नेपालमा लागू भएका विभिन्न आयोजना मध्ये भिटा सबैभन्दा ठूलो आयोजना रहेको बताए । त्यस्तै इनभेष्ट इन्भेष्टमेन्ट, नेदरल्याण्डका प्रतिनिधि रोबिन बुस्टेडले भिटासँगको सहकार्यमा बुटवल उपमहानगरपालिका १५ र १६ मा निर्माण हुने सेमलार बहुउद्धेशीय एकिकृत कृषि थोक बजारको गुरुयोजनाको बारेमा संक्षीप्त जानकारी दिए ।
कृषि लगानीका लागि अगूवा बैंकको रुपमा अघि सारेको कृषि विकास बैंकलाई यो कार्यक्रमको लागि ६ वर्षमा करीब १० अर्ब रुपैयाँ उपलब्ध हुने छ ।भिटा कार्यक्रमले लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लामा १२ ओटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको हो ।


