- Loading...
रासायनिक मलको समस्या कम गर्न झोल युरिया मल
- कृषि टि.भी.
- १ साल अघि
- २५ पटक पढिएको


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको समस्या कम गर्न झोल नानो युरिया मल बिक्री वितरणका लागि अनुमति दिएको छ । यसअघि दानादार युरिया मल मात्र आयात गर्न पाइनेमा अब झोल युरिया मल पनि ल्याउन पाइने कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । दाना युरिया मलभन्दा सस्तो र सजिलो तरिकाले उपलब्ध हुने भएकाले त्यसको विकल्पमा किसानले नानो युरिया मल प्रयोग गर्न सक्ने छन् ।

नानो युरिया मललाई नेपालमा आयात र प्रयोग गर्न अनुमति दिइएको र सूचीकृत गरिएको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा उल्लेख भएबमोजिम हालसम्म नेपालमा ५२ प्रकारको मल पाइन्थ्यो । अब नानो युरिया मलसहित ५३ प्रकारको मल पाइने छ । यसअघि प्राङ्गारिक मलको मात्र झोल आयात गर्न पाइने व्यवस्था थियो । नानो युरिया मल नेपालका लागि उपयुक्त छ कि छैन भनी परीक्षणका लागि कृषि मन्त्रालयले मन्त्रालयका सहसचिव रहेका माटो विज्ञ डा. चन्द्र ढकालको नेतृत्वमा एउटा समिति बनाएको थियो । त्यो समितिले खुमलटारमा नानो युरिया मलको परीक्षण गरेको थियो । समितिले काउली तरकारीमा नानो युरिया मलको प्रयोग गरेको थियो ।
यो परीक्षणबाट सकारात्मक परिणाम आएपछि नेपालमा यो नानो युरिया मल प्रयोग गर्न सकिने सिफारिस गरिएको मन्त्रालयले जनाएको छ । उत्पादन पनि दाना युरिया प्रयोग गरेकोभन्दा यसको प्रयोगले उत्पादन बढी देखिएको मन्त्रालयलको दाबी छ ।

