
- Loading...
फलफूल र हरियो तरकारीको भाउ अत्याधिक वृद्धि
- कृषि टि.भी.
- ११ महिना अघि
- ३१ पटक पढिएको


काठमाण्डौं । बजारमा फलफूल र हरियो तरकारीको भाउ अत्याधिक वृद्धि भएको छ। फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत मुलुक भारतमा भएको मूल्य वृद्धिको हात रहेको व्यवसायी बताउँछन् । इन्धनको मूल्यले गर्दा ढुवानी भाडा पनि अकाशिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महीनामा केरा, स्याउ, मेवा, खर्बुजा, अंगुर र सुन्तलालगायत फलफूलको मूल्य ह्वात्तै बढेको छ । महीना अघिसम्म सय रुपैयाँ दर्जनमा पाइने केरालाई अचेल २ सय रुपैयाँ पर्न थालेको छ । २ सय ५० रुपैयाँ किलोमा पाइने फुजी स्याउको मूल्य थोक बजारमै प्रतिकिलो २ सय ७५ रुपैयाँसम्म पुगेको छ । यसको खुद्रा मूल्य ३ सय ५० देखि ३ सय ८० रुपैयाँसम्म छ । त्यसैगरी, १ सय ९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको थोक मूल्य २ सय २० रुपैयाँ छ । खुद्रा बजारमा व्यवसायीले आफूखुशी २ सय ५० देखि २८० रुपैयाँसम्म लिन्छन् । महीनाअघि सय रुपैयाँ किलो रहेको हरियो अंगुरको मूल्य अहिले १ सय ४५ रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै कागतीको मूल्य बढेको छ । १ महीनाअघि किलोको २ सय ५० रहेको कागतीको थोक मूल्य अहिले ३ सय २५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा त ५ सय रुपैयाँसम्म तिर्नु परेको उपभोक्ताको गुनासो छ ।समितिको तथ्यांकअनुसार कालीमाटीमा १ महीना अघिसम्म दैनिक १५ टन हाराहारी कागती आउँथ्यो । अहिले ५÷६ टन मात्रै आउँछ । नेपालमा ५ हजार ४४५ हेक्टर जमीनमा कागती खेती हुने गरेको सरकारी तथ्यांक छ । त्यसबाट ४६ हजार १ सय १८ टन कागती उत्पादन हुने गर्छ । हरियो तरकारीको भाउ पनि छोइनसक्नु छ । १ महीनाको अवधिमा स्थानीय काउलीको भाउ किलोमै ७० रुपैयाँ बढेको छ । १ महीनाअघि १५ रुपैयाँ रहेको स्थानीय काउलीको मूल्य अहिले किलोको ८५ रुपैयाँ छ । १५ रुपैयाँ किलोमा पाइने गाजरको मूल्य बढेर ३० रुपैयाँ कायम भएको छ । ७० रुपैयाँ किलोको सिमी ८५ रुपैयाँ पुगेको छ । ५० रुपैयाँको मटर कोसाको मूल्य ७० देखि ८० रुपैयाँ पुगेको पाइएको छ । मूल्यवृद्धिमा उपभोक्ता अधिकारकर्मी भने फरक तर्क गर्छन् । बजार अनुगमन गर्ने जिम्मेवारी पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी चुनावको तयारीमा बाहिरी जिल्लामा खटिएकाले अनुगमन फितलो भई व्यापारीले मनपरी मूल्य बढाएको उनीहरू जिकीर गर्छन् ।

