FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • रामपुरको मकै बालीमा फौजी किराको प्रकोप, किसान चिन्तित

    • कृषि टि.भी.
    • १० महिना अघि
    • २८ पटक पढिएको
    Post Thumbnail

    काठमाडौँ । रामपुर–४ देवीस्थान बस्ने मायादेवी श्रेष्ठ मकै बालीमा फौजी किराको आक्रमणले सताएपछि चिन्तित भएकी छन् । 

    हरियाली बनेको मकैखेतीमा किराले सताउन थालेपछि जति मिहेनत र परिश्रम गरे पनि बालीमा क्षति हुँदै गएकाले उत्पादनमा असर पुग्ने उनको गुनासो छ । 

    कृषक श्रेष्ठ भन्छिन्, ‘करीब छ रोपनी जमिनमा मकैखेती लगाइएकामा बोटमा किरा लागेर हैरान पारेको छ, गत वर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र किराको प्रकोपले समस्या सिर्जना गर्छ ।’

    किराले सताएर मकैबाली नै सखापै पार्ने अवस्थामा रहेको कालिका कृषक समूहका अध्यक्ष कृष्ण राना बताउँछन् । करीब तीन हप्ताअघिदेखि मकैमा किरा लागेर डाँठ, पात र गुभो खाएर बाली नै जोगाउनै मुस्किल परेको र बाली जोगाउन विषादी छर्कने गरे पनि नियन्त्रण भइनसकेको उनको गुनासो छ । 

    फौजी किराको प्रकोपले सताएर कार्यालयमा आउने किसानलाई प्राविधिक सेवा र ‘इमामेक्टिन बेन्जोएट’ नामक विषादी निःशुल्क उपलब्ध गराउँदै आएको बताउँछन्, रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँका विभिन्न ठाउँमा किराको प्रकोप बढिरहेको हुँदा दैनिकजसो कार्यालयमा समस्या लिएर किसान आउने गरेको उनको भनाइ छ ।

    रम्भा गाउँपालिका–१ सघाहका कृषक टङ्कराज कडरिया अघिल्लो वर्षभन्दा बढी मात्रामा यस वर्ष मकैमा किरा देखिन थालेको बताउँछन् । करीब १० रोपनी जग्गामा मकैबाली लगाएका उनी वर्षेनी मकैखेती दुःखसँग गरेको खेतीमा किराको असरले उत्पादन घट्ने हुँदा आफूहरु मारमा परेको बताउँछन् । मकैमा फौजी किरा लाग्न थालेपछि किसानको मिहेनत खेर जाने अगुवा कृषक ऋषिराम अर्याल बताउँछन्  । 

    बोट उम्रन थालेदेखि नै किराले आक्रमण गरेर समस्या पार्ने भएकाले बाली नै जोगाउन सकस पर्ने उनको भनाइ छ । ‘दुःख गरेर गरेको खेतीबाट उत्पादन लिन नपाउँदा किसानलाई ठूलो मार परेको छ, रम्भाको सघाहामा धेरै किसानका खेतमा लगाइएका मकैमा किराको आक्रमण छ, पानी नपरेका समय किराले बढी मात्रामा सताउँछ भने आकाशबाट पानी पर्दा केही कम हुन्छ, किराको प्रकोपले सताउन थालेकाले सूर्यमुखी खेती शुरु गरेको छु’, अर्याल भन्छन्  ।

    मकैखेतीका अलवा अन्य बालीमा पनि फौजी किराको प्रकोप देखिन थालेको छ । महामारी भएमा  कार्यालयले आकस्मिक र स्थलगत रूपमा सेवा दिने कृषि ज्ञान केन्द्रका प्रमुख कामना अधिकारी बताउँछन् । 

    ‘अहिलेसम्म ज्ञान केन्द्रमा फौजी किराको प्रकोपबारे जानकारी आएको छैन, समस्या देखिएपछि किसान आ–आफ्नो पालिकाको कृषि कार्यालयमा पुग्नुभएको खबर भने हामीलाई प्राप्त छ, महामारीकै रूपमा प्रकोप देखिएमा कार्यालयले जुनसुकै समय पनि सेवा दिनेछ, अहिलेको मौसम सुक्खा हुँदा प्रकोप फैलिन सक्ने भएकाले सबै किसान सर्तक रहनुहोला’, उनले भने  । 

    साधारणतया मकै छरेदेखि भाँच्ने बेलासम्म विभिन्न प्रकारका किराहरूले आक्रमण गर्दछन् । यस किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै  मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति गर्दछ । गुभोमा काठको धुलोजस्तो किराको दिसा भेटिएमा गुभो खोलेर हेर्दा फौजी किराको लार्भा देखिन्छ । ती लार्भा धेरै खन्चुवा हुन्छ । 

    मकै लगाएको आठदेखि १० दिनमै यसले क्षति गर्ने भएकाले खेतबारीको नियमित अनुगमन गर्नुपर्ने कृषि प्राविधिक बताउँछन् । बालीमा रोग लाग्न नदिनका लागि माटोमा पहिले नै विषादी छर्नुपर्दछ । 

    खेताबारीमा पानी जमेमा किरा नलाग्ने प्राविधिकको भनाइ छ । यदि मकैमा किराले आक्रमण गरे त्यसको नियन्त्रणका लागि ‘इमामेक्टिन बेन्जोएट’ शून्य दशमलव ५ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित