
- Loading...
धानको विउ नउम्रीएपछि बासगढी नगरपालिकाका किसान मर्कामा
- कृषि टि.भी.
- ९ महिना अघि
- १९ पटक पढिएको


काठमाण्डौं । बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा न. ८ का किसानहरुले राखेको सावाँ मन्सुली धानको विउ नउम्रिएपछि किसान मर्कामा परेका छन् । बासगढी नगरपालिकाको कृषि विकास शाखाले आ.बा २०७८/०७९को धान प्रर्वद्धन उत्पादन कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मसिनो जातको साँवा मन्सुली धानको विउ पालिका भित्रका किसानहरुलाई वितरण गरेको थियो । डेउढाकला कृषि सहकारी संस्था लि. बाट २ सय २५ क्यूनटल खरिद गरी किसानहरुलाई वितरण गरेको हो । तर, सो बिउ नउम्रिएपछि किसान मर्कामा परेका छन् । गाउँपालिकाले अनुदानमा बिउ दिएपछि मख्ख परेर बिउ राखेका किसानहरु बिउ नै नउम्रिएपछि पीडामा छन् ।

५० प्रतिशत अनुदानमा दुईटा सहकारी बुदान कृषि सहकारी र साना किसान सहकारी लक्ष्मण बाट बिउ वितरण गरीएको थियो । तर, साना किसान लक्ष्मणले वितरण गरेको सामा मन्सुली धानको बिउ नउम्रेको हो । विउ नउम्रिएको खबर किसानहरुबाट पाएपछि नगरपालिकाले अनुगमन गरेको छ ।

केही मात्रामा मात्र बिउ नउम्रिएको पाइएको अनुगमनपछि बसगढी नगरपालिका कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले जानकारी दिए ।
यता, सहकारीले भने विउ विजन प्रयोगशाला खजुरा बाँकेले धानमा ९२ प्रतिशत उम्रने शक्ति प्रमाणित गरी प्रमाणपत्र दिएको आधारमा धानको विउ वितरण गरेको दाब गरेको छ ।
पिडित किसानहरुले उचित क्षतिपूर्ति दिन माग गरेका छन् । यद्यपी क्षतिपूर्ति गाउँपालिकाले दिने वा शहकारी कस्ले ब्यर्होने भन्ने विषय अन्योल नै छ । अनुगमनमा आएका दुबै निकायहरु यस विषयमा मौन थिए ।

