- Loading...
किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन
- कृषि टि.भी.
- ८ महिना अघि
- ११६ पटक पढिएको

पाँचथर, । पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् ।

सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्विचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन् ।
व्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिँजो निवेदन दिएका हुन् । व्यवसायी हमाल फरार भएको भनी प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुआत गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बरसमेत लिएको पाइएको हो । कृषकले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा व्यवसाय सुरुआत गरेको छोटो समय भए तापनि स्थानीय डेरीमा बिक्री हुनेभन्दा प्रतिलिटर रु पाँच बढी दिने आश्वासन दिइ हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएको बुझिएको छ । रासस

