- Loading...
माछा बिक्रीबाट मनग्ये आम्दानी गरिँदै
- कृषि टि.भी.
- ६ महिना अघि
- ९२ पटक पढिएको

काठमाण्डौं । कञ्चनपुरको बेलौरी नगरपालिका–३ बन्धातालका सोवरन रानाले वार्षिक रूपमा ३ करोड लाख ७५ लाख बढीका माछा बिक्री गर्दै आएका छन् ।
माछापालनका लागि उनले १५ पोखरी निर्माण गरेका छन् ।

ती पोखरीमध्ये उनले १० वटामा माछा र ५ पोखरीमा भुरा उत्पादन गर्दै आएका छन् । ‘माछा बिक्री गरेर मात्रै १ करोड ५० लाख रकम आउँछ,’ उनले भने, ‘माछाको भुरा वर्षमा १० लाख रुपैयाँको बिक्री हुन्छ ।’
माछा र भुरा बिक्री गरेर आएको रकममध्ये १ करोड रुपैयाँको हाराहारीमा आम्दानी हुने गरेको छ । धेरै रकम माछाको चारो, जग्गाको भाडा, पोखरी व्यवस्थापन र कामदारको ज्यालामा खर्च हुने गरेको छ ।
उनको पोखरीमा रोहु, नैनी, भाकुर, कमन कार्प, ग्रास कार्प, विगेट कार्प, पङ्गासिस र रुपचन्द लगायतका माछा पालिएका छन् । पोखरीमा वर्षमा १ हजार ५०० क्वीन्टल माछा उत्पादन हुने गरेको छ । प्रति क्विन्टल माछा २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
माछापालन गरिएको १५ बिघा जग्गामध्ये ८ बिघा जग्गा २ लाख ५० हजार रुपैयाँका दरले वर्षको भाडा तिर्ने गरी लिजमा लिइएको छ । पोखरीमा उत्पादित माछा स्थानीय बजारसँगै धनगढी र महेन्द्रनगरसम्म बिक्री हुने गरेको छ । सिजनमा ३० क्विन्टल बढी माछा भारतमा समेत बिक्री हुने गरेको छ ।
माछापालनकै लागि किसान रानाले बैंकबाट १ करोड ९० लाख रुपैयाँ कर्जा लिएका छन् । तीमध्ये पोखरी निर्माण र अन्य भौतिक संरचना निर्माणमा १ करोड ५० लाख रुपैयाँ रकम उनले खर्च गरेका छन् । अढाइ दशकदेखि माछापालन व्यवसायमा संलग्न रहँदै आएका उनले बाह्रै महिना घरमै बसीबसी आम्दानी गर्नसक्ने व्यवसाय भएकाले यसलाई निरन्तरता दिँदै आएको बताए ।
‘भारतीय माछासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘माछालाई खानाका रूपमा पोखरीमा राख्ने दानाको दर रेट उच्च हुँदा निकै समस्या छ, भारतीय माछा निर्वाध रुपमा भित्रिँदै आएको छ, दानाको मूल्य उच्च हुँदा कम मूल्यमै माछा बिक्री गर्नुपर्छ ।’ दानामा मात्रै वर्षमा १ करोड बढी खर्च हुने गरेको उनको भनाइ छ ।

