- Loading...
सिरहाको धनगढीमाई नगरपालिकामा ११० भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण
- कृषि टि.भी.
- ६ महिना अघि
- १०५ पटक पढिएको

काठमाण्डौं । सिरहाको धनगढीमाई नगरपालिकामा १ सय १० भूमिहीन सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सिरहाले धनगढीमाई नगरपालिका वडा नं. १३ मा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले १ सय १० भूमिहिन सुकुम्वासी घरपरिवारलाई लालपूर्जा वितरण गरिन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म ५० हजार भन्दाबढी भूमिहीनहरुलाई लालपूर्जा वितरण गरेको बताइन् । जसमा गाउँब्लक, पुनःनापी र विशेष नापीबाट ४९ हजार भन्दा बढी र राष्ट्रिय भूमि आयोग मार्फत करिब एक हजार घर परिवारलाई लालपूर्जा वितरण गरिएको छ । मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने बताइन् । उनले नीति तथा कार्यक्रम र वजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने जानकारी दिइन् । मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्ला तहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको पनि बताइन् ।


