- Loading...
भेडाबाख्रालाई पिपिआर रोगविरुद्ध खोप अभियान
- कृषि टि.भी.
- १ साल अघि
- १४२ पटक पढिएको


नुवाकोट र रसुवा जिल्लाका भेडाबाख्रालाई यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म निःशुल्करुपमा पिपिआर रोगविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको छ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत नुवाकोट र रसुवाका सबै भेडाबाख्रालाई पिपिआर रोगविरुद्धको खोप दिन लागिएको हो । खोप कार्यक्रमका लागि दुवै जिल्लाको पालिका तहमा खोप लगाउने प्राविधिक छनोट गरेर अभिमुखीकरणपश्चात् खोपसहितको आवश्यक सहायता सामग्री उपलब्ध गराइसकेको विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा सुलोचना श्रेष्ठले जानकारी दिइन् ।
नुवाकोटका लागि दुई लाख २० हजार डोज र रसुवाका लागि २९ हजार डोज खोपसहित प्राविधिकलाई कार्य क्षेत्र तोकेर पठाइएको छ । पिपिआर भेडाबाख्रामा लाग्ने घातक सङ्क्रामक रोग हो । यसबाट सुरक्षित बनाउन निःशुल्क उपलब्ध गराइएको खोप कार्यक्रममा आफ्ना भेडाबाख्रालाई टोल तथा गाउँगाउँमा तोकिएको खोप केन्द्रसम्म लगेर लाभ लिन विज्ञ केन्द्रका पशु विकास अधिकृत भरत पाण्डेले आग्रह गरे । भेडाबाख्रामा हैजाको रुपमा परिचित पिपिआर रोग नेपालका सबै जिल्ला र बस्तीसम्म फैलिसकेको छ । यसको न्यूनीकरण गर्न खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सप्ताहव्यापी रुपमा प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।


